कालो रित्तो आकाश : संगत रोकाया
कोहि चित्रकारले पेन्टब्रस चलाउन आधिमै छोडे जस्तो
कोहि बटुवाले गन्तव्य छोडि बाटो अन्तै मोडे जस्तो
ताराले जुनसङ्ग नाता तोडे जस्तो
सुखको आशमा दुखीले हत्केला जोडे जस्तो
खै कस्तो हो कस्तो
यो कालो रित्तो आकाश ।।
घैलाको पानी समुन्द्रमा पोखे जस्तो
रित्तो तराजुमा सामान जोखे जस्तो
आँसु झर्दाझर्दै हासे जस्तो
बोली नै नफुट्या भाले मध्यरातमा बासे जस्तो
खै कस्तो हो कस्तो
यो कालो रित्तो आकाश ।।
बिना आवाज नै सारा चिहान उठे जस्तो
लुटेराले निवेदन लेखी बैंक सारा लुटे जस्तो
महादेवले विष भनी अमृत पिए जस्तो
दुईजिब्ब्रेले बिश्वास गर भनी वचन दिए जस्तो
खै कस्तो हो कस्तो
यो कालो रित्तो आकाश ।।
चटपटेमा हाल्ने चुक सारा आकाशमा पोखिए जस्तो
ढुकढुक गर्ने मुटुमा सास एक्कासि रोखिए जस्तो
कलिले नवीन युगलाई बोलाए जस्तो
नैरास्यतामा आसमान्दै मनु टोलाए जस्तो
खै कस्तो हो कस्तो
यो कालो रित्तो आकाश ।।
साङ्सारिक सुखको बोझ सारा बिसाए जस्तो
दिनसङ्ग रात अनायासै रिसाए जस्तो
टुप्पो छुन खोज्दा ठेक नै हराए जस्तो
कागले पनि कुहु कुहु भन्दै कराए जस्तो
खै कस्तो हो कस्तो
यो कालो रित्तो आकाश ।।
- संगत रोकाया (sangatkosangat)
Comments
Post a Comment